युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ

Source:Ekantipur

काठमाडौँ — युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । वासिङ्टन डीसीमा बीबीसीसँगको कुराकानीमा युक्रेनी प्रधानमन्त्री सामिहालले अमेरिकी कंग्रेसले वैदेशिक अनुदानसम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका हुन् । अमेरिकी सांसद ‘निकै विवादास्पद’ मानिएको किभलाई ६१ अर्ब अमेरिकी डलर सहायता दिनेसम्बन्धी विधेयकको पक्षमा उभिनेमा आफू आशावादी रहेकोसमेत प्रधानमन्त्री सामिहालले बताएका छन् ।

उक्त विधेयकमाथि यही शनिबार अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा मतदान हुँदैछ । उक्त प्रस्तावित विधेयकमा इजरायल र एसिया प्रशान्त क्षेत्रलाई सहयोगसमेत समेटिएको छ । बीबीसीसँगको कुराकानीमा युक्रेनी प्रधानमन्त्री सामिहालले भनेका छन्, ‘हामीलाई हिजो चाहिएको थियो पैसा । भोलिलाई होइन, आजलाई पनि होइन ।’

रुससँगको युद्धमा युक्रेन पराजित भएमा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था नै ध्वस्त हुनेसमेत उनको चेतावनी छ । ‘यदि हामीलाई बचाँइदैन भने युक्रेन हार्नेछ । यसले अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था पनि ध्वस्त हुनेछ । विश्वको सुरक्षाका लागि नयाँ व्यवस्था आवश्यक हुनेछ । फेरि नयाँ तनाव उत्पन्न हुन सक्छ । यस्ता थुप्रै युद्धहरू हुन सक्नेछन् । यो घटना तेस्रो विश्वयुद्धको बाटोमा अगाडि बढ्नेछ ।’

युक्रेनले यसअघि पनि रुससँग पराजित भएमा तेस्रो युद्ध हुने चेतावनी दिँदै आएको छ । गत वर्ष राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युद्ध जितेमा पोल्यान्डमाथि आक्रमण गर्ने र तेस्रो विश्वयुद्ध हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *