विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

Table of Contents

SOURCE: EKANTIPUR

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् ।

 

विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

 

पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनको दाबी छ । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको बताए । ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ ।

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को महशुल बिलको केही अंश भएपनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको जानकारी दिए ।

उनले भने,‘आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । तर पछिल्लो समय धेरै ठाउँमा विद्युत प्राधिकरणको नाफा कागजी नाफा हो । विद्युत प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुलको विल गरेर नाफा देखायो भन्ने गरिएको छ । विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन ।’

उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे ।

उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उनले बताए ।

कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको बताए । उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत् पुर्‍याउन निशुल्क मिटर समेत वितरण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


error: Content is protected !!
Scroll to Top
MacroNepal
Verified by MonsterInsights