सेयर बजारमा बन्यो नयाँ रेकर्ड

काठमाडौं : सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यस दिन झन्डै २२ अर्ब (२१ अर्ब ९१ करोडभन्दा बढी) को सेयर कारोबार भएको हो । यसअघि उच्चतम रेकर्ड २०७८ साउन १५ गते बनेको थियो, जुन दिन २१ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको थियो ।
नेप्से सूचक भने २०७९ माघ २७ गते यताकै उच्च विन्दुमा बन्द भएको छ । त्यस दिन बजार २८०१.५६ विन्दुमा बन्द भएको थियो । आज बुधबार नेप्से सूचक ६४.२५ विन्दुले बढेर २७६०.९० अंकमा आएको छ । १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ ।
लामो समयसम्म उठ्नै नसकेर थला पारेको सेयर बजार केही समययता बेस्सरी बढ्न थालेको छ । सबै समूहका सूचक र सेयर मूल्य बढेका छन् । कारोबार रकममा तेजी छाएको छ । नेप्से सूचक पनि बिहीबार इन्ट्रा डे लाइ आधार मान्दा झन्डै २८ सय नजिक पुग्यो । छोटो समयमै बजारमा व्यापक तेजी छाएको हो ।
बजार बढ्दै जाँदा आम लगानीकर्ताको मनोबल पनि सोही हिसाबले वृद्धि हुँदै गएको देखिन्छ । दिनहुँ बजार बढ्न थालेपछि एकपटक बेचेर बसेकाहरुले समेत पुनः खरिद र्ग थालेका ब्रोकरहरुको भनाई छ ।
यसअघि ब्याजदर घटेको महिनौंसम्म पनि बजार वृद्धि हुन सकेको थिएन । प्रणालीमा तरलता थुप्रिएको थुप्रियै थियो । तर पनि नेप्से अघि बढ्नै सकेको थिएन । किनभने आम लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन । जब नयाँ सरकार गठन भयो अनि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको हो ।
गभर्नदेखि अर्थमन्त्री र प्रधानमन्त्रीसम्मले सेयर बजार विकास र सुधारमा प्रतिबद्धता जनाएका छन् । नीतिगतरुपमा व्यवस्थाहरु खुकुलो गरिएको छ । मौद्रिक नीतिले कर्जा लगानी थप विस्तार गर्ने नीति लिएको छ । संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको क्याप खुला गरिएको छ ।
बैंकहरुले साउनमा पाकेको ब्याजसमेत जोडेर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न पाउने भएका छन् । यी सबै प्रावधानहरुले गर्दा सेयर बजारका लगानीकर्ताको मनोबल उच्च देखिएको हो ।
यद्यपि, बजार सधैं एकोहोरो ढंगलेमात्र अघि बढ्दैन । बेलाबेलामा साना–ठूला करेक्सनहरु आइरहन्छन् । यो कुरालाई समेत आम लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ । आफ्ना रणनीतिहरु अगाडि नै तय गरेर अघि बढ्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
बुल बजारमा सबै किसिमका कम्पनीहरु बढ्ने भए पनि लगानीकर्ता भने सधैं सचेत हुन सक्नुपर्छ । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
यस दिन ३३२ कम्पनीको ५ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र शिवम् सिमेन्ट्स परेका छन् ।

https://www.nepalipaisa.com/news-detail/72111

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top