पब्लिक लिमिटेडमा दर्ता भएका कम्पनीहरुको आउला त आइपीओ ?

काठमाडौं : पछिल्लो समय कम्पनी रष्ट्रिारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएका कम्पनीहरुको आइपीओ ल्याउने कुराले निकै नै चर्चा पाएको छ । चालु आर्थिक वर्षको बजेटसँगै नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेत यस विषयले प्राथमिकता पाएको छ । बजेटमा निश्चत रकम भएका कम्पनीलाई पुँजी बजारमा भित्र्याइने भनिएको छ ।
यता, धितोपत्र बोर्ड पनि बजेटको बाटो पच्छ्याउँदै निश्चित रकम भन्दा बढी पुँजी भएको संस्थालाई अनिवार्य रुपमा धितोपत्र बोर्डमा सूचीकरण गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसँग छलफल गर्ने विषय उल्लेख गरेको छ ।
तथापि, कति पुँजीलाई निश्चित मान्ने भन्ने कुरा नियामकले निर्णय गरिसकेको छैन । ‘हामी कम्पनी रजिस्ट्रारको कार्यालयका पदाधिकारीसँग छलफल गरेर प्रक्रिया अघि बढाउँछौं’ धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले भने ।
पुँजी बजारमा ठूला कम्पनीहरु भित्रिन आवश्यक रहेको उनको भनाई छ । यद्दपि, अहिले नै पुँजी बजारमा सबै पब्लिक लिमिटेड कम्पनी भित्रिर्नुपर्ने आवश्यक नियम भने नरहेको उनले बताए । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले भने सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले न्यूनतम ३० प्रतिशत तथा अधिकतम ४९ प्रतिशतसम्म सेयर सर्वसाधारणलाई जारी गर्न सक्छन् । सोहीअनुसार गर्दै आएका पनि छन् ।
कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक अनुसार पब्लिक लिमिटेडका रुपमा हाल २ हजार ५६ कम्पनी दर्ता छन् । तर, धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी जम्मा २ सय ४३ छन् । यसले ज्याँदै न्यून पब्लिक लिमिटेड कम्पनीहरु मात्रै पुँजी बजारमा सूचीकृत भएको देखाउँछ ।
यता, कम्पनी ऐनमै ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिकका रुपमा दर्ता हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्राइभेटबाट कतिपय दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिकमा रुपान्तरण पनि भए । तर पब्लिकमा रुपान्तरण भए पनि यी कम्पनीहरुले सर्वसाधारणलाई आइपीओ जारी गर्न सकेनन् ।
अन्य पब्लिक कम्पनीहरु जारी पुँजीको न्यूनतम १० प्रतिशत मात्रै सेयर जारी गरेर सूचीकरण हुन सक्छन् । राम्रा कम्पनीले प्रिमियम तोकेर वा बुक बिल्डिङ विधिबाट पनि मूल्य तय गर्न सक्छन् । यसकारण सम्पतिको उपयुक्त मूल्य नपाउने डर कम्पनीलाई रहँदैन । यतिहुँदा पनि अधिकांश पब्लिक कम्पनीहरुले आइपीओ जारी गरेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top