सातामा करिब साढे ७ प्रतिशत बढ्यो नेप्से, कुन स्टकको मूल्य सर्वाधिक बढ्यो?

यस साता नेप्से परिसूचक करिब साढे ७ प्रतिशत बढेको छ। गत साता २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.३० प्रतिशत अर्थात १८७.४९ अंक बढेर २७५५.६२ विन्दुमा पुगेको छ।

यस साता नेप्से २८०० विन्दु छोएर फर्किएको हो। साताको अन्तिम कारोबार दिन इन्ट्रा डेमा नेप्से २८०५ विन्दुसम्म पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने घटेर बन्द भएको थियो।

५ करोबार दिनमध्ये यस साता ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन सामान्य अंक घटेको थियो। साताको पहिलो कारोबार दिन नै नेप्से एकैदिन ११३ अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ७.११ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ७.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.३३ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १४ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १९ अर्ब २६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस साता नेप्सेले कारोबार रकममा अल टाइम हाइ रकर्ड बनाएको छ। अघिल्लो बुलमा एक दिनमा अधिकतममा २१ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साताको बुधबार २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो। त्यस्तै, साताको अन्तिम कारोबार दिन २१ अर्ब ७१ करोडको शेयर कारोबार भएको थियो। यी दुबै कारोबार रकम अघिल्लो बुलको हाइ भन्दा बढी हो।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २०.३२ प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०७७.९३ अंक बढेको छ। सबैभन्दा कम बढ्नेमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूह रहेको छ। सो उपसमूहको परिसूचक यस साता १.०५ प्रतिशत बढेको छ।

यस साता लघुवित्त र व्यापार उपसमूहको परिसूचक भने घटेका छन्। यी दुबै उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्। व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.४५ प्रतिशत घटेको छ। अंकका आधारमा भने लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १७४.३१ अंक घटेको छ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा नेपाल फाइनान्स रहेको छ। सो फाइनान्सको शेयरमूल्य यस साता ५५.०८ प्रतिशत बढेको हो। त्यस्तै, यस साता प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य करिब साढे ३२ प्रतिशत बढेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य साढे ३१ प्रतिशतभन्दा बढी बढेको छ। यस साता सबैभन्दा बढी शेयरमूल्य घटेको स्टक भने गणपति माइक्रोफाइनान्स रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस साता १५.९६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मिथिला लघुवित्त, प्राइम बैंकको ऋणपत्र, गरिमा विकास बैंकको ऋणपत्र लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने माण्डु हाइड्रोपावर, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, कुमारी सबल योजना लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top