देशभर ३४ हजार दुई सय ६७ किमि सडक विस्तार

काठमाडौँ — मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा आइतबार विभागले यस्तो जानकारी दिएको हो ।

विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०/८१ को फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको जानकारी दिए । गत आवमा सडक निर्माणका लागि करिब एक खर्ब सात अर्ब २६ बजेट विनियोजन (संशोधन सहितका) भएकामा कूल खर्च ६९ दशमलव ५२ प्रतिशत खर्च भएको छ । जसमध्ये ८५ दशमलव ४० प्रतिशत चालुतर्फ, ६९ दशमलव १७ प्रतिशत पुँजीगततर्फ खर्च भएको सडक विभागको तथ्यांक छ ।

यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाअन्तर्गत एक हजार चार सय ५२ किलोमिटर सडक र एक सय पाँच पुल निर्माण सम्पन्न भएको छ । यस आयोजनाको भौतिक प्रगति ७६ दशमलव ९५ र वित्तीय प्रगति ८० दशमलव ८२ प्रतिशत भएको विभागले जनाएको छ । हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ६६ दशमलव ११, वित्तीय प्रगति ६१ दशमलव ९९ प्रतिशत र कोशी करिडोरमा दुई किमि सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत गैँडाकोट–राम्दी–मालढुंगा खण्ड (दुई सय ४५ किमि) अन्तर्गत एक सय ९० किमि र मालढुंगा–बेनी–जोमसोम खण्ड (दुई सय दुई किमि) अन्तर्गत ५१ किमि कालोपत्र सडक निर्माण भएको छ । यसैगरी, कर्णाली करिडोरअन्तर्गत (दुई सय ६९ किमि) हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको विभागको तथ्यांकमा उल्लेख छ ।

पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास निजगढमा ६५ किमि ‘ट्र्याकबेड’ र १३ वटा रेलवे पुलको निर्माण भएको छ । जसको भौतिक प्रगति ४५ दशमलव चार, वित्तीय प्रगति ४५ दशमलव ३३ प्रतिशत भएको विभागका महानिर्देशक पोखरेलले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top