भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो, निर्माण लागत ३ अर्ब ५० करोड

कर्णाली : भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । आयोजना निर्माणका लागि ३ अर्ब ५० करोड ८ लाख १५ हजार २ सय ८० लागतमा उक्त कम्पनीसँग सम्झौता भएको हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन एकाइ सुर्खेत र झेजियाङ टिम इन्टरनेश्नल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन निङ्बो चाइना कम्पनी लिमिटेडबीच आयोजना निर्माणका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एकाइका तर्फबाट प्रमुख सञ्जीवकुमार साह र कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतितिनिध सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
तीन वर्षसम्म पहिलो चरणको काम सक्नेगरी कामको जिम्मा पाएको चिनियाँ कम्पनीले सातवटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको हो । आयोजनाका लागि ७० प्रतिशत संघीय सरकार, ३० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट रकम जुटाइनेछ । विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । जसअन्तर्गत पहिलो चरणमा ३ अर्बको काम हुनेछ।
वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आकलन गरेर खानेपानी आयोजना बनाइएको हो । भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्यांकी निर्माण गरिनेछ ।
पहिलो चरणका काममा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, अमृतडाडाँबाट वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछन् । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार हुँदा ३ अर्ब लागत लाग्ने जनाइएको छ ।
रासस

https://www.nepalipaisa.com/news-detail/72967

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top