सेयर बजारमा यस कारण घटेन उत्साह

 

SOURCE: NEPALI PAISA

 

नेपाली पैसा
काठमाडौं : सेयर बजारमा उत्साह आउनेक्रम सोमबार पनि जारी रहेको छ । नेप्से सूचकका साथमा कारोबार रकममा पनि उत्तिकै माहोल देखिएको छ । यस दिन नेप्से सूचक ४०.७६ विन्दुले बढेर २७९६.३८ अंकमा आएको छ । २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ समूहका सूचक बढेका छन् ।
आम लगानीकर्ताको मनोबल उच्च हुँदा बजारले सकारात्मक गति लिन सकेको हो । बैंकहरुको रिपोर्ट पनि सार्वजनिक भएको छ । समग्रमा प्रतिकूल अवस्थामा पनि बैंकहरु नाफा वृद्धि गर्न सफल भएका छन् । यसले पनि लगानीकर्ताको मनोबल थप सुधार्न सहयोग पुग्ने देखिएको छ । विगतमा बैंकहरुको मुनाफा निकै संकुचित भएको थियो । तर अहिले आएको रिपोर्टले सकारात्मक संकेत गरिरहेको छ ।
केन्द्रीय बैंकले साउनसम्मको ब्याज आम्दानी जोडेर रिपोर्ट निकाल्ने सुविधा दिए पनि बैंकहरुले त्यसअघि नै रिपोर्ट सार्वजनिक गरे । साउनको आम्दानी जोड्दा मुनाफा अझै बढ्न सक्ने अनुमान लगानीकर्ताहरुले गरिरहेको देखिन्छ । यसकारण पनि रिपोर्ट आएपछि सोमबार बजारमा थप उत्साह देखिएको अनुमान गरिएको छ । यद्यपि, सोमबार बैंकिङ समूहको सूचक घटेको छ ।
 बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि उत्तिकै थपिएका छन् । पुराना लगानीकर्ताको मनोबल उच्च रहेको फ्रन्ट लाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् ।
यस्तै, बजार बढ्दै जाँदा विदेशमा बस्ने नेपालीहरुले समेत निकै चासो देखाइरहेको ब्रोकरहरुको भनाई छ । सेयर बजार सुधार्का लागि सरकार प्रतिबद्ध देखिएकाले लगानीकर्ताको पनि आत्मबल वृद्धि हुन सकेको हो । पछिल्ला दिनहरुमा नीतिगत सुधार भएका छन् । केन्द्रीय बैंकले यसअघि कसेका नीतिहरु फुकाउँदै गएको छ ।
यता, बैंक तथा वित्तीय संस्थामा पनि पर्याप्तमात्रामा तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । यी कारणहरुले पनि सेयर बजारमा नयाँ माहोल आएको विश्लेषण हुँदै आएको छ ।
नयाँ ब्रोकरहरु थपिएका छन् । थपिएका ब्रोकरहरुले पनि नयाँ ग्राहक खोजिरहेका छन् । यसकारण पनि बजारमा लगानीकर्ताको संख्या थपिन सहयोग पुगेको हो । यता, लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्था रहेकाले पनि यतिबेला धेरै व्यक्तिहरु सेयर बजारतर्फ मोडिएको अनुमान छ ।
यद्यपि, बजार २०३७ विन्दु आसपासबाट बढ्न सुरु गरेको हो । अहिले नेप्से सूचक २८ सय विन्दुको नजिक छ । तर अहिलेसम्म नेप्सेमा ठूलो करेक्सन भने आएको छैन । दैनिक कारोबार रकममा व्यापक तेजी भएको र आम लगानीकर्ताको मनोबल उच्च भएकाले नेप्से राम्रोसँग बढ्दा समेत करेक्सन नआएको विश्लेषणहरु भइरहेका छन् ।
विगतमा नीतिगत अवरोधका कारण बजार माथि उठ्नै सकेको थिएन । तर अहिले सरकार तथा नियामक निकायहरु बजार सुधारका लागि प्रतिबद्ध देखिएका छन् । बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढेको ब्रोकरहरुको भनाई छ । यी सबै सकारात्मक कारण एकसाथ देखिंदा बजारले गति लिन सकेको हो ।
यद्यपि, बजार सधैं एकोहोरो ढंगलेमात्र अघि बढ्दैन । बेलाबेलामा साना–ठूला करेक्सनहरु आइरहन्छन् । यो कुरालाई समेत आम लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ । आफ्ना रणनीतिहरु अगाडि नै तय गरेर अघि बढ्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
बुल बजारमा सबै किसिमका कम्पनीहरु बढ्ने भए पनि लगानीकर्ता भने सधैं सचेत हुन सक्नुपर्छ । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
यस दिन ३२६ कम्पनीको ४ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २६ करोडको कारोबार रकमसहित हिमालयन रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सानिमा माई हाइड्रोपावर परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top