एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह

 

nepalipaisa

नेपाली पैसा
काठमाडौं : अघिल्लो दिन करिब डेढ सय अंकको करेक्सन आएको बजार बुधबार पुनः सकारात्मक बाटोमै फर्किएको छ । नेप्से सूचकमा फराकिलो अंकको वृद्धि भएको छ । यस दिन नेप्से सूचक १०८.३५ विन्दुले बढेर २७५९.६७ अंकमा आएको छ । १९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । डेढ दर्जन कम्पनी ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेका छन् ।
आम लगानीकर्तामा व्यापक उत्साह देखिएको छ । ब्रोकरहरुका अनुसार नयाँ लगानीकर्ता थपिएका छन् । पुरानाले पनि क्षमताले भ्याएजति कारोबार गरिरहेका छन् । अहिले बैंक–वित्तीय संस्थाले सस्तो ब्याजदरमा सेयर कर्जा दिइरहेका छन् । यसकारण पनि धरैको सेयर क्रय क्षमता बढेको देखिन्छ । ब्याजदर सस्तो हुँदा कर्जा लिएर सेयर किन्नेहरु पनि बढेको अनुमान गरिएको छ ।
यस्तै, सूचीकृत कम्पनीहरुको समग्रमा नाफा बढेको रिपोर्ट सार्वजनिक भएको छ । यसले पनि लगानीकर्ताको मनोबल थप बढाउन सहयोग गरेको छ । अधिकांशको वित्तीय विवरण सार्वजनिक भइसकेकाले अब सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गर्न थाल्नेछन् । लाभांशको सिजन नजिकिएकाले पनि बजारमा थप उत्साह देखिएको हो ।
यतिबेला सेयरधनी बन्नेहरु अब छोटो समयमै लाभांशको हकदार बन्न सक्नेछन् । बढ्दो बजारमा लाभांशको साथमा पुँजीगत लाभ पनि हुन सक्ने भएपछि आम लगानीकर्ता उत्साहित बनेका हुन् ।
यता, सेयर बजार सुधार्का लागि सरकार प्रतिबद्ध देखिएकाले लगानीकर्ताको पनि आत्मबल थप वृद्धि हुन सकेको हो । पछिल्ला दिनहरुमा नीतिगत सुधार भएका छन् । केन्द्रीय बैंकले यसअघि कसेका नीतिहरु फुकाउँदै गएको छ ।
यसैगरी, नयाँ ब्रोकरहरु थपिएका छन् । थपिएका ब्रोकरहरुले पनि नयाँ ग्राहक खोजिरहेका छन् । यसकारण पनि बजारमा लगानीकर्ताको संख्या थपिन सहयोग पुगेको हो । यता, लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्था रहेकाले पनि यतिबेला धेरै व्यक्तिहरु सेयर बजारतर्फ मोडिएको अनुमान छ ।
विगतमा नीतिगत अवरोधका कारण बजार माथि उठ्नै सकेको थिएन । तर अहिले सरकार तथा नियामक निकायहरु बजार सुधारका लागि प्रतिबद्ध देखिएका छन् । यद्यपि, बजार सधैं एकोहोरो ढंगलेमात्र अघि बढ्दैन । बेलाबेलामा साना–ठूला करेक्सनहरु आइरहन्छन् । यो कुरालाई समेत आम लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ । आफ्ना रणनीतिहरु अगाडि नै तय गरेर अघि बढ्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
बुल बजारमा सबै किसिमका कम्पनीहरु बढ्ने भए पनि लगानीकर्ता भने सधैं सचेत हुन सक्नुपर्छ । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
१ अर्ब ५३ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको  छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् ।

https://www.nepalipaisa.com/news-detail/72306

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top