मुकेश अम्बानीको रिलायन्सले निष्कासन गर्‍यो ४२ हजार कर्मचारी

SOURCE: EKANTIPUR 

काठमाडौँ — भारतको रिलायन्स इन्डस्ट्रिजले ४२ हजार कर्मचारी निष्कान गरेको छ । कुल कर्मचारी संख्याको ११ प्रतिशतलाई आर्थिक वर्ष २०२४ मा कम्पनीले जागिरबाट निकालिदिएको हो । एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका लागि कर्मचारी संख्या घटाउनुपरेको जनाएको छ ।

 

मुकेश अम्बानीको रिलायन्सले निष्कासन गर्‍यो ४२ हजार कर्मचारीतस्बिर : द इकोनमिक टाइम्स

 

अर्बौ‌ रुपैयाँ बिहेमा खर्च गरेको अम्बानी परिवारले यत्तिका धेरै कर्मचारीको रोजिरोटी खोसेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

भारतको सबैभन्दा ठूलो रिटेल सञ्जाल र टेलिकम नेटवर्क सञ्चालन गर्ने रिलायन्सले नयाँ नियुक्ती संख्यासमेत घटाएको छ । कम्पनीको वार्षिक प्रतिवेदनअनुसार पछिल्लो वर्ष १ लाख ७१ हजार नयाँ कर्मचारी थप गरिएका छन् जबकी अघिल्लो वर्ष २ लाख ६३ हजार कर्मचारी नियुक्त गरिएको थियो । करिब १ लाख ४३ हजार कर्मचारीले स्वेच्छिक अवकास लिएका थिए ।

रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको रिलायन्स रिटेलले गत वर्ष १ सय अर्ब डलरको कूल मूल्यांकनमा १.८५ अर्ब डलर लगानी प्राप्त गरेको थियो । तथापी, वार्षिक आयवृद्धि दर घट्दै गएको वित्तीय प्रतिवेदनमा उल्लेख छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आय ७ प्रतिशतले बढेको थियो । अघिल्लो त्रैमासको तुलनामा १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिए पनि त्यसअनुरुप हुन सकेन । रिलायन्स रिटेलले आव २०२३ मा प्रतित्रैमास औसत ७४० वटा नयाँ स्टोर सञ्चालनमा ल्याइरहँदा यस पटक पहिलो त्रैमासमा जम्मा ८२ वटा नयाँ स्टोर खोलेको छ ।

कर्मचारी कटौतीको खबर बाहिरिएपछि भारतीय नागरिकहरूले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । मुकेशले विशाल खर्च गरेर कान्छा छोरा अनन्त अम्बानीको महिनौं लामो बिहे सम्पन्न गराएबापतको नतिजा भन्दै कतिपयले व्यंग्य गरेका छन् ।

अनन्त र राधिका मर्चेन्टको बिहेमा ५ हजार करोड भारतीय रुपैयाँ खर्च भएको बताइन्छ । बिहेमा गायक जस्टिन बिबरको प्रस्तुतिका लागि मात्रै ८३ करोड भारु खर्च गरिएको समाचार बाहिरिएका थिए । कम्पनीले खर्च कटौतीका लागि ४२ हजार कर्मचारी निष्कासन गर्नु विडम्बना भएको टिप्पणी भइरहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top