Source: Nepali Paisa
काठमाडौं : सेयर बजार बुलिस रहेको समय आइपीओ आउनु बजारलाई निकै फाइदाजनक रहेको जानकारहरुले बताएका छन् । यस्तो समय आइपीओ पनि सहजै बिक्ने र सूचीकरणपछि भाउपनि बढ्ने हुँदा आइपीओले पनि बजार बढ्नमा केही सहयोग पुर्याउने उनीहरुको भनाई छ । त्यसो त, नेपालमा आइपीओ सूचीकरणपछि २-४ दिन सर्किट लाग्नेगरी बढ्ने गरेको छ । यद्दपि, सबै कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा नै कारोबार हुन्छ भन्ने पनि होइन ।
तर, १०० रुपैयाँ अंकित दरमा आइपीओ ल्याएका कम्पनीको बजार भाउ ३०० देखि ४०० प्रतिशतले सहजै बढ्ने गरेको देखिएको छ । त्यसमाथि, बजार बुलिस रहेको बेला उक्त दर झनै बढ्न सक्छ । चुक्ता पुँजी धेरै भएको कम्पनीको बजार भाउ बढ्यो भने त्यसको पुँजीकरणमा हिस्सा पनि बढ्ने गर्छ । जसले गर्दा नेप्सेको समग्र इन्डेक्सलाई पनि प्रभाव पार्न सक्छ । उदाहरणका लागि हिमालयन रिइन्सुरेन्सको बजार भाउमा घटबढ भयो भने नेप्से इन्डेक्सलाई पनि असर गर्छ ।
त्यसैगरी, धेरै चुक्ता पुँजी भएका कम्पनीहरुको मूल्यमा आउने उतारचढावले पनि बजारलाई प्रभाव पार्ने गरेको छ । त्यसैले, विभिन्न नयाँ कम्पनी बजारमा सूचीकृत हुँदा उनीहरुको भाउ बढ्यो भने नेप्से इन्डेक्सलाई पनि बढ्न मद्दत पुग्न सक्छ । तर, नेपाल धितोपत्र बोर्डले भने धेरै समयदेखि आइपीओ अनुमति दिएको छैन ।
बोर्डका प्रवक्ता एंव कार्यकारी निर्देशक डा.नवराज अधिकारीले सार्वजनिक लेखा समितिले दिएको निर्देशनलाई अक्षरशः पालना गर्न बोर्डमा परेका आवेदनका सबै फाइल अध्ययन गर्न थालिएको जानकारी दिए । उनले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक सेयर जारी गर्न नदिने व्यवस्था नभएपनि लेखा समितिको निर्देशनले रोकिएको बताए । बोर्डमा आवेदन दिएका कम्पनीहरुको फाइलहरु अध्ययनकै क्रममा रहेकाले आइपीओ स्वीकृतिमा विलम्ब भएको उनले बताए ।
लेखा समितिले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक सेयर जारी गर्न नदिन निर्देशन दिएकाले पनि बोर्डले ठोस निर्णय गर्न नसकेको हो । समितिले त्यस्ता कम्पनीलाई सेयर निष्कासन गर्न दिँदा सर्वसाधारण लगानीकर्ता अत्याधिक जोखिममा पर्न सक्ने भन्दै त्यस्तो अवस्था आउन नदिने गरी कार्य सम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।
तर, बोर्डले अनुमति नदिंदा कम्पनीहरुले आइपीओ बिक्री गरेर पुँजी संकलन गर्न र लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाएका छैनन् । सेयर बजारका जानकार तथा विश्लेषक मुक्ति अर्यालले बजार बुलिस रहेको बेला आइपीओ आयो भने मार्केटले सजिलै सब्सक्राइब गर्ने बताउँछन् ।
उनले भने, ‘बजार बढेको बेला आइपीओ आयो भने इन्डेक्स बढ्नलाई पनि मद्दत गर्छ । घटेको भन्दा बढेको बेला मार्केटले सजिलै पचाउँछ । लगानीकर्ताले पनि स्वागत गर्छन् । यस्तो बेला कम्पनीलाई पनि राम्रो हुन्छ ।’ त्यसो त, बजार बढेको बेला सक्रिए लगानीकर्ताको संख्या पनि धेरै हुन्छ । आइपीओ बिक्री नहुने सम्भावना पनि निकै कम नै रहन्छ । जसले गर्दा नयाँ कम्पनीहरुल बजारमा प्रवेश गर्न खोज्छन् । र, लगानीकर्ताहरुले पनि नयाँ क्षेत्रका कम्पनीमा लगानी विविधिकरण गर्न पाउछन् ।
तर, बजार बढेको बेला केही खराब वित्तीय अवस्था भएका कम्पनीहरुको बजार भित्रिने सम्भावना पनि रहन्छ । यद्दपि, नेपालको बजारमा खराब कम्पनी जुनसुकै बेलापनि बजार प्रवेश गरेको जानकारहरुको भनाई छ । नेपालमा आइपीओ बिक्री नभएको अवस्था एकात मात्रै छ । त्यसैले जस्तो कम्पनीको पनि साधारण सेयर बिक्री हुने गरेको छ ।
अर्यालले राम्रो वा नराम्रो कम्पनी जुन बेला पनि आएको बताउँछन् । उनले भने, ‘राम्रो वा नराम्रो भनेर छुट्याउने धितोपत्र बोर्डको काम हो । नराम्रो कम्पनी बुलिस मार्केटमा आउने अरु बेला नआउने भएको भए त्यो छुट्टै कुरा हुन्थ्यो । तर, जहिले पनि जस्तो पनि कम्पनी आएको हुँदा त्यसको खासै अर्थ हुँदैन ।’
आइपीओ अनुमति पर्खिरहेका कम्पनीहरुः
https://www.nepalipaisa.com/news-detail/72920
All the Rights Belong TO Nepali Paisa