नेप्सेले दियो गिरावटलाई निरन्तरता

काठमाडौं : सेयर बजार सुस्त हुनेक्रमले साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । आइतबार नेप्से सूचक ४.५९ विन्दुले घटेर २०७३.१९ अंकमा आएर अडिएको छ । सूचक घटे पनि कारोबार रकम भने राम्रो देखिएको छ ।
यस दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ५ समूहका सूचक सकारात्मक बनेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।
२१ सय विन्दुभन्दा तल झरेपछि बजार सुस्त गतिमा चलिरहेको छ । सूचकमा खासै ठूलो उतारचढाव देखिएको छैन । नेप्से २ हजारको मनोवैज्ञानिक रेखाबाट माथि जान पनि सकेको छैन । अनि, ठूलो अंकले तल झर्न पनि सकेको छैन । यतिबेला नेप्से सूचक २०६० देखि २०८० को आसपासमा घुमिरहेको देखिन्छ ।
यसअघि नेप्से २१ सय विन्दुभन्दा माथि नै टिकेको थियो । तर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सूचक पुनः २ हजारको लाइनमा झरेको हो । मनोबल बढाउने कार्यक्रम बजेटमा नपरेको भन्दै सेयर लगानीकर्ता रष्ट बन्द सूचक प्रभावित भएको हो ।
अब असार महिना पनि नजिकिंदैछ । सामान्ययतः असार, साउनलाई सेयर बजारको सिजनका महिना मान्छि । तर पनि अहिलेसम्म भने नेप्सेले त्यसअनुरुप गति भने देखाउन सकेको छैन । तर पछिल्ला दिनहरुमा कारोबार रकममा भने विस्तारै तेजी आउने संकेत देखिएको छ । यसले केही आशा बढाएको लगानीकर्ताको भनाई छ ।
पछिल्ला दिनहरुमा औसतमा हेर्दा ४ अर्ब भन्दा माथिको कारोबार भइरहेको छ । कारोबार रकममा सुधार हुँदै गएमा भने बजार वृद्धिप्रति सकारात्मक हुन सकिने जानकारहरु बताउँछन् । बजेटपछिको बजारलाई हेर्ने हो भने समग्रमा नेप्से सूचक साइडवेज प्रवृत्तिमा रहेको देखिन्छ ।
अब लगानीकर्ता नयाँ मौद्रिक नीतिको पर्खाईंमा रहन थालेका छन् । मौद्रिक नीतिका लागि केन्द्रीय बैंकले सरोकारवालासँग सुझाव पनि
 मागेको छ । आगामी आर्थिक वर्षका लागि केन्द्रीय बैंकले साउनमा मौद्रिक नीति सार्वजनिक गर्नेछ । मौद्रिक नीति लचिलो हुने संकेत देखिएको छ । त्यसो त गभर्नर महाप्रसाद अधिकारी स्वयंले आगामी मौद्रिक नीति लचिलो हुने बताइसकेका छन् ।
मौद्रिक नीतिमा लगानीकर्ताका माग सम्बोधन भएमा बजारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । विशेषगरी सेयर बजारमा लगाइएको क्याप हटाउन लगानीकर्ताले माग गरिरहेका छन् । अहिले सेयर धितो कर्जामा क्याप लगाइएको छ । यसकारण ठूला लगानीकर्ताले अपेक्षा अनुसार कर्जा लिएर लगानी गर्न सक्ने अवस्था छैन । तर क्याप हटेमा भने कर्जा लिएर लगानी गर्न सहज हुनेछ ।
यद्यपि, सेयर बजारमा उतारचढावहरु आइरन्छ । घटेको बजार बढ्छ । बढेपछि फेरि घट्छ । यो बजारको सामान्य नियम नै हो । यसर्थ, दिनहुँ हुने घटबढका लागि खासै ठूलो कारण पनि चाहिँदैन । माग र आपूर्तिकै सामान्य सिद्धान्तले बजारमा काम गरिरहेको हुन्छ ।
तर बजारले निश्चित गति वा लय समाउन भने सस्तो ब्याजदर, अधिक तरलताका साथमा नीतिगत सुधार अत्यावश्यक हुन्छ । लगानीमैत्री नीतिनियम अनिवार्य मानिन्छ । यसका साथै, अर्थतन्त्रमा सुधार हुनुपर्छ । बढ्दो आपूर्ति खपत गर्ने संयन्त्रको विकास हुन पनि जरुरी हुन्छ ।
यता, आम लगानीकर्ताले भने लाभांश क्षमता राम्रो रहेका, नाफा, रिजर्भ, इपीएस, नेटवर्थ लगायतका सूचकहरु सबल रहेका कम्पनीमा योजनाबद्ध तरिकाले लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ ।
यस दिन ३१३ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सिटी होटल परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top