बैशाखमा घट्यो शेयर धिताे कर्जा

बैशाखमा शेयर धिताे कर्जा घटेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत बैशाख महिनामा शेयर धितो कर्जा २३ करोड रुपैयाँले घटेका हाे।

बैशाख महिनामा शेयर बजारले खासै गति लिन सकेन। यता नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिकाे समीक्षामा समेत शेयर बजारका लागि सहज नीति लिइएन। त्यसले गर्दा लगानीकर्ताले थप कर्जा लिएर बजारमा हाल्न नखोजेको देखिन्छ।

गत चैतसम्ममा ८६ अर्ब १८ करोड रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जा बैशाख अन्तिमसम्ममा ८५ अर्ब ९५ करोड रुपैयाँमा झरेको हो।

चालु आर्थिक वर्षमा शेयर धितो कर्जा निरन्तर बढ्दै गएका थियो। मौद्रिक नीतिमा लिइएका लचक नीतिले गर्दा शेयर बजार बढ्ने आशमा लगानीकर्ताले बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्दै आएका थिए। तर बजार निरन्तर घट्दा ब्याजदर घटेपनि लगानीकर्ता कर्जा लिन इच्छुक नदेखिएका हुन्।

चालु आर्थिक वर्षमा अन्य क्षेत्रमा कर्जा लगानी नबढेपनि शेयर बजारमा बढ्दै गएको थियो। गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुले शेयर बजारमा ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा दिएका थिए। औसतमा हेर्दा लगानीकर्ताले मासिक १ अर्ब बढीको कर्जा लिँदै आएका थिए। तर पछिल्लो महिनाहरुमा भने कर्जा लगानी पुनः सुस्ताउन थालेको देखिन्छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत चैत महिनामा मात्रै लगानीकर्ताले ४८ करोड कर्जा लिएका थिए भने फागुन महिनामा ५२ करोड, माघ महिनामा १ अर्ब शेयर धितो कर्जा गएको छ। पुसमा पनि ३ अर्ब बढी कर्जा गएको थियो।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा ४–१२ करोडको क्याप लगाएपछि शेयर धितो कर्जा निरन्तर घट्दै गएको थियो। अहिले राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको क्याप पुरै नहटाएपनि उक्त नीति केहि खुकुलो बनाउँदै लगेपछि यस्तो कर्जा बढ्न थालेको थियाे। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। पहिलो त्रैमासिक समीक्षामा पनि सबै शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको थियो भने सीमा पनि बढाएर व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड बनाएको थियो। त्यसले पनि शेयर धितो कर्जा बढ्न थालेको हो। अहिले शेयर बजार सकारात्मक देखिदा पनि लगानीकर्ताले शेयर धितो कर्जा बढाएका थिए।

अहिले लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको क्याप हटाउनुपर्ने र जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने माग गरिरहेका छन्। सोहि माग सम्बोधन नहुँदा लगानीकर्ता पनि अहिले कर्जा लिनबाट पछि हटेको देखिन्छ।

अहिले लगानीकर्ताले एकल विन्दुको ब्याजदरमा नै शेयर धितो कर्जा पाउने अवस्था बनेको छ। यस्तो अवस्थामा पनि लगानीकर्तामा कर्जा लिएर शेयर बजारमा लगानी गर्ने कन्फिडेन्स छैन। यसले गर्दा आगामी वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जाको क्याप हटाउन लगानीकर्ताले दबाव दिन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top