आज नेप्से परिसूचक ११.६ ले घट्यो

काठमाडौं  : सेयर बजारमा फेरि गिरावट आएको छ । यसअिघ २ दिन लगातार झिनो अंकले बढेको बजार बुधबार पुनः दोहोरो अंकले घटेको हो । यस दिन नेप्से सूचक ११.६० विन्दुले घटेर २०६०.१६ अंकमा अडिएको छ । १३ मध्ये ३ वटा समूहको सूचकमात्र बढेको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
समग्रमा हेर्दा नेप्से सूचकसँगै दैनिक कारोबार रकममा पनि ह्रास आएको देख्न सकिन्छ । नेप्से अहिले २ हजारको लाइनमा चलिरहेको छ । २१ सयबाट तल झरेपछि बजारको समग्र चाल निकै सुस्त देखिएको छ । समग्रमा बजार साइडवेजमा रहेको देखिन्छ ।
आम लगानीकर्ताको मनोबल खासै बलियो हुन नसकेको बजार प्रवृत्तिले देखाउँछ । निरन्तर ब्याजदर घटेको छ । वित्तीय प्रणालीमा तरलता सहज छ । अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक बनेको छ । यति हुँदा पनि बजारले भने पटक्कै सकारात्मक संकेत देखाउन सकेको छैन । यसो हुनुको मुख्य कारण नीतिगत अवरोधलाई नै मानिएको छ । नीतिमा सुधार नगरेसम्म बजारले फराकिलो वृद्धि हासिल गर्न नसक्ने जानकारहरु बताउँछन् ।
सेयर बजार सुधारका लागि वित्तीय भन्दा पनि मौद्रिक नीतिमै सुधार गर्नुपर्ने देखिएको छ । विशेषगरी सेयर धितो कर्जामा अंकुश लगाइएकाले ठूला लगानीकर्ताले खुलेर सेयर खरिद गर्न सकेका छैनन् ।
 अहिले सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताका लागि १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको क्याप लगाइएको छ । यही नीतिगत अवरोधकै कारण लामो समयदेखि ब्याजदर घटे पनि बजारले गति लिन नसकेको हो ।
समग्र बजारले गति लिन नसकेपछि लामो समयको लगानीभन्दा पनि अल्कालीन कारोबारतर्फ लगानीकर्ता केन्द्रित भएको देखिन्छ । थोरै नाफामा छिटोछिटो कारोबार गर्ने प्रवृत्ति हावी भएकाले पनि बजारले उचाई लिन नसकेको देखिन्छ ।
यद्यपि, आम लगानीकर्ताले भने सकेसम्म मजबुत वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दा जोखिम कम गर्न सहयोग पुग्न सक्छ ।
यस दिन ३०५ कम्पनीको ८७ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४६ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

https://www.nepalipaisa.com/news-detail/71041

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top