२८ सय पुगेर फर्कियो नेप्से, अब के होला बजार

काठमाडौं : सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । सूचक ५.२९ विन्दुले घटेर २७५५.६२ अंकमा अडिएको छ । २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यद्यपि, बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले नयाँ–नयाँ उचाई तय गर्ने काम जारी राखेको देखिन्छ । बुधबार अहिलेसम्मकै उच्च कारोबार गरेर रेकर्ड कायम गरेको नेप्सेले आज फेरि इन्ट्रा डे मा २८ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सफल भयो । गत बुलबाट तल झरेको बजार त्यसपछि २८ सयमाथि जान सकेको थिए । तर बिहीबार इन्ट्रा डे मा नेप्सेले २८ सयको मनोवैज्ञानिक रेखा पार गर्न पनि सफल भयो । त्यसपछि भने सूचक पुनः घटेर २७ सयकै लाइनमा फर्कियो ।
बजार २०३७ अंकबाट लगभग निरन्तरजसो बढिरहेको छ । यसबीचमा एकाध दिनमा मात्र सानातिना करेक्सन आएको हो । त्यसपछि पुनः चम्किंदै नेप्से २८ सयको तहसम्म आइपुगेको हो । लामो समय डिप्रेस भएको बजारमा एकाएक लगानीकर्ता उत्साहित हुँदा नेप्सेले आक्रामक गति लिन सकेको हो । बढ्दो सूचकलाई दैनिक कारोबार रकमले पनि उत्तिकै साथ दिइरहेको छ । यही कारण पनि बजारको वृद्धि सबल देखिएको हो ।
बजारमा नयाँ ब्रोकरहरुको संख्या थपिएकाले पनि कारोबार रकम धेरै हुन सहयोग पुगेको देखिन्छ । नयाँ लगानीकर्ताहरु थपिएका छन् । पुरानाको पनि आत्मबल थप बढेको देखिन्छ । बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढेको ब्रोकरहरुको भनाई छ । यी सबै सकारात्मक कारण एकसाथ देखिंदा बजारले गति लिन सकेको हो ।
यसअघि ब्याजदर घटेको महिनौंसम्म पनि सेयर बजार वृद्धि हुन सकेको थिएन । प्रणालीमा तरलता थुप्रिएको थुप्रियै थियो । तर पनि नेप्से अघि बढ्नै सकेको थिएन । किनभने आम लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन । जब नयाँ सरकार गठन भयो अनि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको हो ।
गभर्नदेखि अर्थमन्त्री र प्रधानमन्त्रीसम्मले सेयर बजार विकास र सुधारमा प्रतिबद्धता जनाएका छन् । नीतिगतरुपमा व्यवस्थाहरु खुकुलो गरिएको छ । मौद्रिक नीतिले कर्जा लगानी थप विस्तार गर्ने नीति लिएको छ । संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको क्याप खुला गरिएको छ ।
बैंकहरुले साउनमा पाकेको ब्याजसमेत जोडेर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न पाउने भएका छन् । यी सबै प्रावधानहरुले गर्दा सेयर बजारका लगानीकर्ताको मनोबल उच्च देखिएको हो ।
यद्यपि, बजार सधैं एकोहोरो ढंगलेमात्र अघि बढ्दैन । बेलाबेलामा साना–ठूला करेक्सनहरु आइरहन्छन् । यो कुरालाई समेत आम लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ । आफ्ना रणनीतिहरु अगाडि नै तय गरेर अघि बढ्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
बुल बजारमा सबै किसिमका कम्पनीहरु बढ्ने भए पनि लगानीकर्ता भने सधैं सचेत हुन सक्नुपर्छ । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
यस दिन ३३२ कम्पनीको ५ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ७५ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सीइडीबी हाइड्रोपावर परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top