लगातारको वर्षाले हवाई उडान प्रभावित

काठमाडौं : गए राति देखिको लगातारको वर्षाले देशको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् ।
आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समयपछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएर भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताए । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोसी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top