सेयर धितो कर्जा प्रवाह गर्नेमा कुन बैंक सबैभन्दा अगाडि ? तथ्यांकमा हेरौं

source : Nepali Paisa

काठमाडौं : वाणिज्य बैंकहरुको सेयर धितो कर्जामा लगानी बढेको छ । १ वर्षको अवधिमा बैंकको सेयर धितोमा प्रवाह हुने कर्जा १९.८८ प्रतिशतले बढेर ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । २० मध्ये १३ बैंकको सेयर धितोमा प्रवाह हुने कर्जा बढेको छ भने ६ बैंकको घटेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गर्ने गरेको छैन ।
आगामी दिनमा सेयर धितो कर्जा थप बढ्ने देखिएको छ । किनभने पछिल्लो समय समग्रमा सेयर बजार बढ्दो क्रममा रहेको छ । कारोबार रकमले पनि नयाँ रेकर्डहरु कायम गरिसकेको छ । योसँगै सेयर कर्जाको माग पनि बढ्दै गएको बैंकरहरुले बताउँदै आएका छन् । यता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंक सेयर बजारप्रति केही लचिलो बनेको छ ।
मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाइएको २० करोड रुपैयाँको सीमा हटाइएको छ । त्यसअघि संस्थागत लगानीकर्तालाई २० करोडसम्मको सीमा कायम थियो । उक्त सीमा हटेसँगै अब सेयर कर्जा थप विस्तार हुने जानकारहरुले बताउँदै आएका छन् । बढ्दो बजार, लचक नीति, घट्दो ब्याजदरले अगामी दिनमा सेयर धितो कर्जा बढ्दै जाने देखिन्छ ।
वाणिज्य बैंकहरुको सेयर धितो कर्जा १ वर्षमा १९.८८ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०८०–८१ मा वाणिज्य बैंकहरुले ७० अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको अघिल्लो आर्थिक वर्षको तुलनामा सेयर धितो कर्जा १९.८८ प्रतिशतले बढेर ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकहरुले ५८ करोड ६७ लाख ९० हजार रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
जसमध्ये नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमइ बैंकले ७ अर्ब ५१ करोड सेयर धितोकर्जा प्रवाह गरेको छ । त्यस्त,ै नेपाल बैंकले ६ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले ५ अर्ब ७८ करोड, सिटिजन्स बैंकले ४ अर्ब ८० करोड, कुमारी बैंकले ४ अर्ब ३७ करोड कर्जा प्रवाह गरेका छन् ।
साथै, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड तथा प्राइम कमर्सियल बैंकले ४ अर्ब ५ करोड कर्जा प्रवाह गरेका छन् । स्टान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन भने नेपाल एसबीआई बैंकले सबैभन्दा कम २० करोड १५ लाख रुपैयाँमात्र सेयर धितो कर्जा प्रवाह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर कर्जा १८ प्रतिशतले बढ्यो
यता, समग्रमा वाणिज्य बैंकसहित अन्य वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जा १ वर्षमा १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सेयर धितो कर्जा १८.०६ प्रतिशतले बढेको हो ।
२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ९० अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए ।

https://www.nepalipaisa.com/news-detail/72876

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top