कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान

Source:Merolgani

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्। 

सन् १९८० जुन ३ मा जन्मेका तमिम कतारका पूर्व शेख हमाद बिन खलिफा अल थानीका काइँलाे छोरा हुन्। उनको प्रारम्भिक शिक्षा लन्डनको प्रसिद्ध ह्यारो स्कूलमा भएको थियो। त्यसपछि उनी रोयल मिलिटरी एकेडेमीमा भर्ना भएका थिए ।

पढाइ सकेपछि शेख तमिम कतारी सेनामा भर्ना भए र सेकेण्ड लेफ्टिनेन्ट पनि भए । सन् २००३ मा, उनका जेठो दाजु शेख जसिमले सिंहासनमाथि आफ्नो दाबी त्यागे। जसपश्चात उनलाई कतारको राजा बन्ने बाटो खुलेको थियो । सन् २०१३ मा तमिमका बुबा हम्माद बिन खलिफाले अचानक आफ्नो पद त्यागको घोषणा गर्दै तमिमलाई कतारको राजा घोषणा गरेका थिए ।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार शेख हम्मादको परिवारका अधिकांश व्यक्ति सेनादेखि कतारको सरकारसम्मका विभिन्न महत्वपूर्ण पदमा छन् । एक हिसाबले हेर्दा सबै ठाउँमा उनीहरूकै चल्छ।

३ वटा विवाहबाट १३ सन्तान

कतारका अमिर शेख तमिमले ३ पटक विवाह गरेका छन् । उनले २००५,२००९ र २०१४ मा विवाह गरेका थिए । उनका १३ सन्तान छन् ।

संचारमाध्यमका अनुसार शेख तमिम एक्लै १.६ बिलियन पाउण्डका मालिक हुन् । यो सँगै शाही परिवारको कुल सम्पत्ति करिब ३३५ अर्ब डलर रहेको छ । उनी दोहाको राजदरबारमा बस्छन्।

संसारकै सबैभन्दा महँगो घरमा बस्छन्

कतारका राजाकाे राज दरबारलाई विश्वकै महँगो घर मानिन्छ । यसको मूल्य करिब एक अर्ब डलर रहेको अनुमान गरिएको छ । दरबारका केही भागमा सुनका हस्तकलाले सिंगारिएकाे छ ।

त्यहाँ १०० भन्दा बढी कोठा र ५०० सवारी साधनका लागि पार्किङको व्यवस्था छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार शेख तमिमले सन् २०१९ मा ओमानमा आफ्नोलागि अर्को दरबार पनि बनाएका थिए जसको नाम ‘व्हाइट प्यालेस’ राखिएको छ ।

सेतो दरबार (White Palace) ठ्याक्कै दोहाको राज दरबार जस्तै रहेकाे छ । यहाँ विलासिताका सबै सुविधाहरू पनि उपलब्ध छन्। शाही र ह्वाइट प्यालेसबाहेक शेख तमिमको लण्डन,अमेरिकालगायत विश्वका अन्य देशमा पनि सम्पत्ति छ ।

समुन्द्रमा ‘तैरिरहेको दरबार’को मालिक

शेख तमिमले आफ्नो याटमा महिनाका केही दिन बिताउँछन् । यस याटलाई कटारा भनिन्छ र यो संसारको सबैभन्दा महँगो र विलासी याट भनिन्छ। करिब ४० करोड डलरको यो याट समुद्रमा तैरिरहेको दरबार जस्तै छ । १२४ मिटर लामो यो याटमा हेलिप्याड र कैयाैं डेकहरू छन्। यस याटमा ३५ पाहुना र ९० जना चालक दलका सदस्यहरूका लागि एकैसाथ बस्ने व्यवस्था रहेकाे छ ।

निजी एयरलाइन्सको मालिक पनि

कतारका राजाको आफ्नै निजी एयरलाइन्स पनि छ । सन् १९७७ मा राज परिवार र सरकारी उच्च अधिकारीलाई मात्र सेवा प्रदान गर्ने ‘कतार अमिरी एयरलाइन्स’ को आधार शिला राखिएको थियो । रिपोर्टका अनुसार यस एयरलाइनसँग हाल तीन बोइङ ७४७ सहित कम्तीमा १४ वटा विमान सञ्चालनमा छन्। प्रत्येक जहाजको लागत ४०० मिलियन डलर भन्दा बढी छ।

फुटबल क्लबका मालिक

शेख तमिमलाई लक्जरी कार पनि मनपर्छ । उनीसँग विश्वको सबैभन्दा महँगो कार छ । ती कारहरू बुगाटीदेखि फरारी,ल्याम्बोर्गिनी, रोल्स रोयससम्मका सवारी साधनहरू हुन्।

तमिमलाई खेलकुदमा निकै रुचि छ । उनको पहलमा कतारले फिफा विश्वकप आयोजनाको अधिकार पाएको हो । शेख तमिम सेन्ट जर्मन फुटबल क्लबका  मालिक पनि हुन्। भर्खरै राज परिवारले एससी ब्रागाको करिब २२ प्रतिशत शेयर खरिद गरेको छ। यो पोर्चुगलको सबैभन्दा प्रख्यात फुटबल क्लबहरू मध्येकाे एक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top