नेप्से सूचक बिहीबार ८.२४ विन्दुले घटेर २०५१.९२ अंकमा अडिएको छ

 

काठमाडौं : नेप्से सूचक बिहीबार ८.२४ विन्दुले घटेर २०५१.९२ अंकमा अडिएको छ । ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहको सूचकमात्र सकारात्मक देखिएका छन् ।
असार लागेपछि समग्रमा सेयर बजारले उत्साह जगाउन सकेको छैन । सामान्यतयः असार–साउन महिनामा पुँजी बजारका लागि मुख्य सिजनका रुपमा लिइन्छ । तर यो पटक अहिलेसम्म बजारले यस्तो संकेत देखिएको छैन ।
समग्र सेयर बजार प्रवृत्ति अध्ययन गर्दा आम लगानीकर्ताको मनोबल अहिलेसम्म कमजोर नै रहेको देखिन्छ । विशेषगरी नेप्से २ हजारको लाइनमा झरेपछि बजार निकै सुस्त छ । नेप्सेले समग्रमा साइडवेज प्रवृत्ति देखाएको छ ।
बजार घट्दा पनि सुस्त अनि बढ्दा पनि सुस्त तवरले मात्र वृद्धि भएको देखिन्छ । दैनिक खरिदबिक्री रकम पनि औसतमा मात्र रहेको छ । क्रेता र बिक्रेता दुवै पक्षको सक्रियता कमजोर पाइन्छ । बैंक ब्याजदर निरन्तर ओरालो लाग्दा पनि बजारले गति लिन नसक्नुको मुख्य कारण नीतिगत अवरोधलाई नै मानिएको छ ।
अहिले पनि सहज तरिकाले सेयर कर्जा लिन नसक्ने अवस्था छ । कर्जामा क्यापका कारण ठूला लगानीकर्र्ता विकर्षित भएका छन् । यस्तै, सहकारी क्षेत्रमा पनि समस्या भएकाले ती क्षेत्रबाट पनि सेयर बजारमा खासै पैसा आउन सकेको छैन । चालु–पुँजी कर्जामा गरिएको कडाईले समेत सेयर बजारलाई अप्रत्यक्षरुपमा प्रभाव पारेको अनुमान गरिएको छ ।
यद्यपि, बजार घटेको पनि ३ वर्ष हुन लागेको छ । मूल्य निकै तल्लो तहमा आएको छ । अब विस्तारै खरिद पक्ष मजबुत हुने आम अपेक्षा गर्न भने सकिन्छ ।
सेयर बजार सुधारका लागि आम लगानीकर्ताको आत्मबल सुधार हुनुपर्छ । बजारमा लगानी गरेपछि लाभ लिन सकिन्छ भन्ने सन्देश जान आवश्यक देखिन्छ । यसका लागि सरकार तथा नियामकको भूमिका हुन्छ ।
अहिले सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताका लागि १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको क्याप लगाइएको छ । यही नीतिगत अवरोधकै कारण लामो समयदेखि ब्याजदर घटे पनि बजारले गति लिन नसकेको हो ।
समग्र बजारले गति लिन नसकेपछि लामो समयको लगानी गर्नुभन्दा पनि अल्कालीन कारोबारतर्फ धेरै जना केन्द्रित भएको देखिन्छ । थोरै नाफामा छिटोछिटो कारोबार गर्ने प्रवृत्ति हावी भएकाले पनि बजारले उचाई लिन नसकेको देखिन्छ ।
यद्यपि, आम लगानीकर्ताले भने सकेसम्म मजबुत वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दा जोखिम कम गर्न सहयोग पुग्न सक्छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह लगायतका विषयमा खुकुलो नीति लिएमा भने बजारका लागि सकारात्मक पक्ष हुन सक्नेछ ।
सेयर धितो कर्जामा लगाइएको क्याप हटेमा कर्जा लिएर कारोबार गर्ने ठूला लगानीकर्ता आकर्षित गर्न सकिने जानकारहरु बताउँछन् । ठूला लगानीकर्ताको प्रवेश नभएसम्म सेयर बजारले गति लिन कठिनजस्तै हुन्छ । किनभने बजारको आकार बढिरहेको छ ।
 हकप्रद, बोनस तथा आइपीओले बजारमा आपूर्ति (सप्लाई) बढेको बढ्ै छ । तर त्यसलाई खपत गर्न संस्थागत र ठूला लगानीकर्ता आवश्यक हुन्छ । अहिलेको बजारमा यही कुराको कमी छ । यसर्थ, सरकार तथा नियामकले सेयरको माग पक्ष (डिमान्ड साइड) सबल गर्ने वा बढाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ ।
यता, ब्रोकरहरु पनि सहरकेन्द्रित भएका छन् । नयाँ थपिएका ब्रोकरहरुले पनि माग पक्ष बढाउन खासै रचनात्मक भूमिका निर्वाह गर्न सकेको देखिंदैन । उनीहरु पनि पुराना ब्रोकरकै ग्राहक खोस्नमा मात्र ध्यान लगाइरहेको देखिन्छ । यसकारण पनि माग पक्ष सबल हुन सकेको देखिंदैन ।
यस दिन ३३३ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ७६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र इदी मर्दी आरबी हाइड्रोपावर परेका छन् ।
  

 

Resize text
Scroll to Top